धरानः धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत हिजो राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबले काँकरभिट्टा महिला फुटबल क्लब माथि ८–० को फराकिलो गोल गरेको छ ।

धरान १६ स्थित रंगशालामा भएको खेलमा पुलिसको लागि रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरिन् । रेखाले दोहोरो ह्याट्रिक गर्ने क्रममा खेलको पहिलो हाफको २७ औँ, ३८ औँ, ४४ औँ, ४६ औँ र दोस्रो हाफको २० औँ र ३२ औँ मिनेटमा गोल गरिन् ।

सम्झना लावती र मीना देउवाले पनि एक एक गोल गरे । खेलको प्लेयर अफ दी म्याच नेपाल पुलिसकी रेखा पौडेल घोषित हुँदै नगद १० हजार प्राप्त गरिन् ।
जीतसँगै पुलिस सेमिफाइनल प्रवेश गरेको छ । पुलिसले मंसिर ३ गते आयोजक स्वर्णिम क्लबसँग सेमीफाइनल खेल्नेछ ।