धरान । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी कसुरमा फरार रहेका संस्थापक शिवकुमार लामिछाने सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा फरार रहेका लामिछाने र अस्मिता भण्डारीलाई प्रहरीले सुनसरीको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले उनीहरूलाई मंसिर २ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ पर्ने ४५ वर्षीय लामिछाने धरान उपमहानगरपालिका–१२ का स्थायी बासिन्दा हुन्।

उनको हालको बसोबास काठमाडौं महानगरपालिका–२२ मा रहेको छ। उनी बराह सहकारीका संस्थापक हुन्।

त्यस्तै, धरान–१५ की ३३ वर्षीया भण्डारी पनि पक्राउ परेकी छन्। उनी सहकारीको ऋण उपसमिति सदस्य, ग्राहक सेवा कर्मचारी तथा बराह ग्रुपको १ नम्बर प्रदेश सचिवालय सदस्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बराह सहकारी सम्बन्धी मुद्दामा १७ हजार १० जना बचतकर्ता पीडित छन्।

शंकर थापासहित ४ हजार २४३ जनाले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो कायम गरिएको छ।

सहकारीले नेपालमा ३० र विदेशमा चार वटा कम्पनी स्थापना गरी विभिन्न समयमा बचतकर्ताबाट संकलित रकम अपचलन तथा ठगी गरेको आरोप छ।

यही प्रकरणमा संलग्न भई फरार रहेका प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।

सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार छन्।