काठमाडौं । कमिल मिशाराको शतक र कप्तान रवि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो ।
चितवनका लागि एनपीएलमा अहिलेसम्मकै उच्च स्कोर बनाउने कमिल मिशाराले शतक प्रहार गरे । यसअघि चितवनले यसै सिजन लिग चरणमा काठमान्डुविरुद्ध बनाएको १७० रन टिमको उच्च स्कोर थियो । उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो ।
मिशाराले करियरको तेस्रो टी–२० शतक बनाउने क्रममा अविजित १२० रन बनाए । उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरे । यस्तै रवि बोपारले ५३ रन जोडे ।
यस सिजन कुनै पनि टिमले २०० रनभन्दा माथिको योगफल बनाएको यो तेस्रो पटक हो । यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमान्डु विरुद्ध नै २२४ रन बनाएको थियो ।
पहिलो विकेटका लागि मिशाराले देव खनालसँग २२ रनको साझेदारी गरेका थिए । तर चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल र डाविड मालानलाई लगातार आउट गरेपछि चितवन २२–२ को स्थितिमा पुगेको थियो । देवले १५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा १७ रन बनाए । मालान पहिलो बलमै क्याचआउट भएका थिए ।
त्यसपछि मिशाराले कप्तान रवि बोपारासँग मिलेर तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । यो जोडीले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे । एनपीएलमा चितवनको यो अहिलेसम्मको उच्च साझेदारी हो भने समग्रमा तेस्रो ठूलो साझेदारी हो ।
१९ औं ओभरको तेस्रो बलमा काठमान्डुका रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी तोडेका थिए । बोपाराले यस सिजन एनपीएलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले ४२ बलमा ३ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए ।
त्यसपछि विवेक यादवले ३ बल खेल्दै २ चौका मद्दतमा ८ रन बनाएर आउट भए । काठमान्डुका कप्तान करण केसी र रासिद खानले २–२ विकेट लिए ।


















