धरानः धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ मा सशस्त्र प्रहरी बल फाइनल प्रवेश गरेको छ ।
बुधबार राति धरान– १६ स्थित रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले स्तब्ध बनाउदै एपीएफ उपाधिनजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा जर्सी नम्बर ११ की अनिता बस्नेत र जर्सी नम्बर १२ की गीता रानाले एक एक गोल गर्दै एपीएफलाई फाइनल पुर्याए ।
पहिलो हाफको १० औँ मिनेटमा अनिताले उत्कृष्ट गोल गरिन् भने ४३ औँ मिनेटमा गीता रानाले गोल गर गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । दोस्रो हाफमा भने कुनै पनि टोलीबाट गोल हुन सकेन ।
खेलको प्लेयर अफ दि म्याच एपीएफकी गीता राना घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरिन् ।
विजेता एपीएफले आज हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको रात्रिकालीन प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पाँच लाख रुपैयाँ र उपविजेताले नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
फाइनल खेल मंसिर ५ गते हुनेछ ।


















