गोठगाउँः ११ औँ हब सम्मेलन एसक्युसी (स्कुल क्वालिटी सर्कल) अन्तर्गत मोरङ हब मोरङको सुन्दरवाटिका एकेडेमीमा शुक्रबार सम्पन्न भएको छ ।
विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन, नेतृत्व क्षमता विकास तथा सिर्जनशील सोच अभिवृद्धि गर्ने उद्देश्यले क्वेस्ट नेपालको मातहतमा रहेको मोरङ हबले कार्यक्रम आयोजना गरेको थियो ।
एसक्युसीमार्फत् सहानुभूतिको भावना विकास गर्ने मूल विषयमा केन्द्रित सम्मेलनमा जिल्लाका ११ विद्यालयका विद्यार्थीले विभिन्न प्रतियोगितामा भाग लिएका थिए । विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामूहिक कार्यशैली, सहकार्य र समस्या समाधान गर्ने सीप विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको थियो ।
सम्मेलनमा सहभागी विद्यालयका विद्यार्थीहरूले केस स्टडी प्रस्तुति गरेका थिए भने प्यानल डिस्कसनमार्फत् आफ्ना अनुभव, विचार र धारणा प्रस्तुत गरेका थिए ।
सम्मेलनको आतिथ्यता गरेको सुन्दरवाटिका एकेडेमीका प्रिन्सिपल विनोद फुयालले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको व्यवहारिक ज्ञान, सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासलाई महत्व कार्यक्रमले महत्त्व दिने बताउनुभयो ।
कार्यक्रममा सहभागीमध्ये ६ विद्यालयका विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । प्रतियोगितामा मकालु मोरङ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी पहिलो भएका थिए ।


















