काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोएल्ससलाई १५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे ।
लुम्बिनीका ओपनर आसिफ शेख फाइनलमा व्यक्तिगत १ रनमा आउट भए ।
छैटौं ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो बलमै सर्टलाई बोल्ड गरे । सर्टले १८ बल खेल्दै २१ रन जोडे ।
कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेलालई ११औं ओभरमा थरिन्दु रत्नायकेले बोल्ट गरपछि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी गरे ।
डिकवेलाले १७ बल खेल्दै १ चौका र २ छक्का मदतमा २८ रन जोडे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । रोहितले ३१ बल खेल्दै ४ चौका मदतमा ३० रन जोडे ।
त्यसपछि आएका सन्दिप जोरा ४ रन बनाएर आउट भए ।
दिलिप नाथ र अली शेखले त्यसपछि लुम्बिनीका लागि छैटौं विकेटका ३३ रनको साझेदारी गरे ।
अन्तिमसम्म ब्याटिङ गरेका दिलिप नाथले ३१ बल खेल्द ३९ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।


















