इटहरी । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले पूँजी बजारमा लगानीकर्ताको सूचनामा पहुँचलाई थप सहज, एकीकृत र पारदर्शी बनाउने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
अब निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक (मर्चेन्ट बैंक) तथा शेयर रजिस्ट्रारहरूले सी–आस्वा प्रणाली प्रयोग गरी सार्वजनिक निष्कासन तथा विभिन्न कर्पोरेट सूचनाहरू सिधै ‘मेरो शेयर’ प्लेटफर्ममा प्रकाशित गर्न सक्ने भएका छन् ।
यस व्यवस्थासँगै अब प्राथमिक शेयर (आईपीओ), हकप्रद शेयर, बोनस शेयर, लाभांश वितरण, ऋणपत्र फिर्ता तथा संस्थापक शेयरको ‘लक–इन’सम्बन्धी सम्पूर्ण विवरणहरू लगानीकर्ताले सिधै मेरो शेयरमार्फत् एकै ठाउँमा हेर्न पाउनेछन् ।
हाल नेपालमा ६० लाखभन्दा बढी डिम्याट खाता र लाखौँ मेरो शेयर प्रयोगकर्ता छन् ।