खाँदबारीः सङ्खुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज शिलान्यास हुने भएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
दुवै देशका प्रधानमन्त्रीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत् आयोजनाको शिलालेख अनावरण गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिने कम्पनीले जनाएको छ ।
आयोजनाका मुख्य संरचना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा रहनेछन् । आयोजनाबाट प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । करिब २५३ परिवारलाई उक्त रकम वितरण गरिएको छ ।
आयोजनाका लागि ६५६ जनाले मुआब्जा पाउनेछन् । मुआब्जा वितरणमा १ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा जग्गाको मूल्याङ्कन प्रतिरोपनी पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म गरिएको छ । आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन् ।
भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट निस्कने पानीलाई उपयोग गरी तल्लो अरुण आयोजना सञ्चालन गरिनेछ । अरुण तेस्रोबाट विद्युत् उत्पादनपछि जम्मा भएको पानी खाँदबारी नगरपालिका–२ चेवाबेसीबाट करिब १७ दशमलव ३ किलोमिटर सुरुङमार्फत विद्युत् गृहमा पुर्याइनेछ ।
आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । लगानी बोर्ड नेपाल र भारतीय कम्पनीबीच भएको परियोजना विकास सम्झौताअनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा आयोजना निर्माण हुनेछ ।
आयोजनाको निर्माण अवधि पाँच वर्ष निर्धारण गरिएको छ । व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । आयोजनाबाट उत्पादित कुल बिजुलीको २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।
विसं २०८० जेठ १८ गते लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच परियोजना विकास सम्झौतामा हस्ताक्षर भएको थियो ।


















