दमकः एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा २५ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटरमध्ये दुवैतर्फ १९ दशमलव पाँच किलोमिटर र एकतर्फी छ किलोमिटर कालोपत्रे गरिएको हो ।

चार लेनको सडक निर्माणको भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले १० अर्ब छ करोड ९४ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डको म्याद आगामी माघ १८ गतेसम्म छ । दुई तहमा कालोपत्रे गर्नुपर्ने भएकाले म्यादभित्र पहिलो तहको काम सक्ने लक्ष्य रहेको पन्तले बताए ।

यस प्याकेजमा पर्ने १८ वटा पुलको निर्माण पूरा भइसकेको छ । कनकाई, माई, विरिङ र नन्दा खोलामा आर्क ब्रिज प्रकृतिका पुल निर्माण गर्ने योजना छ । विरिङ खोलामा स्टिल ट्रस जडान सुरु भएको छ । दुई भागमा रहने उक्त संरचनाले आगामी दुई महिनाभित्र आकार लिने अपेक्षा गरिएको छ ।

बिर्तामोड र चारआलीलगायत सहरी तथा घनाबस्ती भएका क्षेत्रमा विद्युत्का पोल सार्न बाँकी हुँदा निर्माणमा जटिलता आएको पन्तले बताए । निर्माण व्यवसायीले जनशक्ति, उपकरण र सामग्री परिचालनमा अपेक्षित गति दिन नसक्दा पनि काम प्रभावित भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन र अलकत्राको मूल्य तथा उपलब्धतामा भएको उतारचढावले समेत काममा असर पारेको छ ।

निर्माण व्यवसायीले काम अवरुद्ध भएका विषय प्रमाणसहित नियमित रूपमा आयोजनाको पूर्व कार्यालय दमकमा जानकारी गराउँदै आएको छ । अवरोधका कारण, काम पूरा गर्ने आधार र व्यवसायीको गम्भीरता मूल्याङ्कन गरेर म्याद थपबारे निर्णय लिन सकिने पन्तले बताए ।

आयोजनामा एसियाली विकास बैंकको ८४.९५ प्रतिशत र नेपाल सरकारको १५.१५ प्रतिशत लगानी रहेको छ ।