धरानः लागूऔषध दुव्र्यसनमा फसेका महिलाको उपचार, सुधार तथा पुनःस्थापनाका लागि धरानमा महिला सुधार केन्द्रको भवन शिलान्यास गरिएको छ ।
धरान उपमहानगरपालिका–६ पानवारीस्थित आसरा सुधार केन्द्र परिसरमा निर्माण हुने तीन तले भवनको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले हिजो शिलान्यास गर्नुभएको हो ।
भवन निर्माण सम्पन्न भएपछि एकैपटक ५० जना महिलालाई आवासीय उपचार सेवा प्रदान गर्न सकिने जनाइएको छ । भवन निर्माणका लागि ३ करोड ९ लाख २६ हजार ३०० रुपैयाँ लागत अनुमान गरिएको छ ।
आसरा सुधार केन्द्र पानवारी धरानका प्रथम उपाध्यक्ष शिला बज्राचार्यका अनुसार केन्द्रको आन्तरिक स्रोत तथा देशविदेशमा रहेका सहयोगी, आजीवन सदस्य र दाताको सहयोगमा निर्माण शुरु गर्न लागिएको हो । महिलाका लागि छुट्टै सुधार केन्द्र आवश्यक भएकाले सवा २८ धुर जग्गा खरिद गरी भवन निर्माणको योजना अघि बढाइएको उहाँले बताउनुभयो ।
सो भवनको प्रत्येक तलामा २ हजार १८३ वर्गफिट क्षेत्रफल रहने भएको छ । सिँढीसहित कुल ५ हजार १५० वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवनमा आवासीय कोठा, परामर्श कक्ष, बहुउद्देश्यीय हल, भोजन तथा भान्सा क्षेत्र, स्वास्थ्य तथा प्राथमिक उपचार कक्ष र सीप विकासका लागि आवश्यक संरचना रहने जनाइएको छ ।
आवास गृह निर्माण भएपछि महिलालाई सुरक्षित आवासीय सुविधा, उपचार, व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श, योग तथा ध्यान, स्वास्थ्य परीक्षण र व्यावसायिक सीप विकास तालिम उपलब्ध गराइने केन्द्रले जनाएको छ ।
शिलान्यास कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खनालले हाल केन्द्रमा पुरुष दुव्र्यसनीका लागि मात्रै उपचारको व्यवस्था रहेकामा महिला दुव्र्यसनीको सङ्ख्या पनि बढ्दै गएकाले उनीहरूलाई उपचार सेवा उपलब्ध गराउन छुट्टै आवास गृह निर्माण गर्न लागिएको बताउनुभयो ।
लागुऔषध ओसारपसार तथा बिक्री वितरणविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको उल्लेख गर्दै उहाँले दुव्र्यसनमा फसेका व्यक्तिमाथि मुद्दा चलाउने र कारबाही गर्ने मात्र नभई उपचारमार्फत् समाजमा पुनःस्थापित गर्नु प्रहरी, समाज र राष्ट्रको उद्देश्य तथा जिम्मेवारी भएको बताउनुभयो ।
२०७५ चैत १ गते आसरा सुधार केन्द्र रानीबारी, महाराजगञ्ज, काठमाडौंको शाखाका रूपमा स्थापना भएको यो केन्द्र २०८० पुस ३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको छ ।
केन्द्रका अनुसार स्थापनादेखि हालसम्म २ हजार १८७ जना उपचारका लागि भर्ना भएकामा २ हजार १०० जनाले उपचार पूरा गरी पुनःस्थापना सेवा पाएका छन् । हाल ८७ जना उपचाररत छन् ।















