शुक्रबारेः शुक्रबारदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा शुरु भएको तेस्रो वडाध्यक्ष कप यु–१५ अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा महेन्द्र माविले सिद्धार्थ माध्यमिक विद्यालय, खोर्सानेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

खेलको तेस्रो मिनेटमै महेन्द्र माविका जर्सी नम्बर १० का जोसेफ तामाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । मध्यान्तरपछि सिद्धार्थ माविका जर्सी नम्बर १० का निपेश तामाङले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा महेन्द्र माविका जर्सी नम्बर ९ का पदम विकले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाए ।

उद्घाटन खेलमा पहिलो गोल गरेका महेन्द्र माविका जोसेफ तामाङ म्यान अफ द म्याच घोषित हुँदै नगद ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईंले खेलकुदले विद्यार्थीलाई कुलतबाट टाढा राख्नुका साथै अनुशासित, स्वस्थ र सक्षम नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । शिक्षा क्षेत्रमा नगरले गरेको कामको मूल्याङ्कन गर्दै प्रदेशका नगरमध्ये सुन्दरहरैंचा नगरपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरी पुरस्कृत भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकाल, नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, जनप्रतिनिधिलगायतको उपस्थिति थियो । क्लबका अध्यक्ष जयनारायण चौधरीको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको थियो ।

प्रतियोगिताअन्तर्गत आज क्वेस्ट स्कुल र लभ्ली एन्जल्सबीच पहिलो खेल हुनेछ । जनता माध्यमिक विद्यालय हरैंचा र हरैँचा मोडलबीच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।

खेलको विजेता टिमले नगद ५१ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ ।