काठमाडौं । भारत सरकारले सडक यातायातका क्रममा कार तथा बसमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ । कार तथा बसको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने नियम ल्याएको मन्त्री गडकरीले बताए। भारतका एक जना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्त्रीको गत मङ्गलबार कार दुर्घटनामा परेर ज्यान गएको थियो । भारतको मुम्बईमा उनको ज्यान गएको एक दिनपछि भारतको केन्द्रीय सरकारले सिट बेल्ट लगाउनुपर्ने नियमको घोषणा गरेको हो । 

कार दुर्घटनाका क्रममा मिस्त्री आफ्नो कारको चालकसँगैको सिटमा बसेका र उनले सिट बेल्ट नबाँधेका भारतीय प्रहरीले जनाएको छ । उनको पछि बसेका अरू व्यक्तिले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए ।