धरान । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको दुःखमा आफू साथ रहेको बताएका छन् । 

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गर्दै स्टाटस लेखेका थिए ।

‘पसिनाको भेल बगाएर अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू’, साम्पाङले लेखेका छन् ।

उनको पोस्टमा प्रतिक्रिया जनाउँदै बालेनले लेखेका छन्, ‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर, केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुःखमा हामी छौँ, म छु, सधैँ हुनेछौँ ।’

सोमबार बिहानसम्ममा हर्कको पोस्टमा ३५ हजारले लाइक गर्दा बालेनको कमेन्टमा ४२ हजार जनाले लाइक गरेका छन् ।