विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवाबाट प्रहरीले आज (बुधबार) बिहान अन्दाजी ३८ किलोग्राम गाँजा बरामद गरेको छ ।
चेकजाँचका लागि खटिएको इलाका प्रहरी कार्यालय नेमुवाका प्रमुख एवं प्रहरी नायव निरीक्षक उज्वल शाक्य नेतृत्वको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय नेमुवाअगाडिबाटै गाँजा बरामद गरिएको हो ।
गाँजा ओसारपसारमा संलग्न भने प्रहरीलाई छलेर भाग्न सफल भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चेकजाँचका लागि प्रहरीले बिहान ५ बजेतिर रोक्न खोजेको थियो । जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला सडकमा फालेर मोटरसाइकलमा सवार व्यक्ति फरार बनेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएर दुवै झोला खानतलासी गर्दा अन्दाजी ३८ किलोग्राम गाँजा बरामद भएको छ । फरार रहेको मोटरसाइकल र मोटरसाइकलमा सवार रहेका २ जनाको खोजी तीव्र पारिएको जनाइएको छ । गाँजा नेमुवामै राखेर घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


















