राजविराज । सप्तकोसी नदीमा शुक्रबार बिहान एउटा मालवाहक ट्रक खसेको छ । सप्तकोशी ब्यारेजमा बस र ट्रक आपसमा ठोक्किँदा ट्रक कोशी नदीमा खसेको हो । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस ब्यारेजको पुलको १० नम्बर ढोका अगाडिबाट आपसमा ठोक्किएको थियो ।
सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार नदीमा ट्रक झर्दा पुलको १० फिट पर्खालमा समेत क्षति पुगेको छ । बसका यात्रुहरू भने सकुशल छन् ।
नदीमा खसेको मालवाहक ट्रकबाट सामान नदीमा बगेको तथा ट्रकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

















