विराटनगर । मोरङको सुन्दरहरैँचाबाट महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुत्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका–६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये एकजना १० वर्षीय बालक पनि छन् ।
सुलकपुरस्थित बजारमा साँझ ७ बजेतिर शब्जी किन्दै गरेकी सुन्दरहरैँचा–९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री थुतेको प्रहरीले जनाएको छ । महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्न खोज्दै गर्दा उनलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीका अनुसार थुत्नसाथ सिक्री विशालले १० वर्षीय बालकलाई थमाइदिएको पत्ता लागेको छ ।
प्रहरीले सिक्री बालकको साथबाट बरामद गरेको हो । सिक्री थुतेको घटनामा संलग्नलाई नियन्त्रणमा लिएको जानकारी स्थानीयले गराएपछि इलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी घटनास्थल पुगेको थियो । तर, विशालको साथबाट सिक्री फेला परेन । नजिकै रहेका बालकको साथबाट सिक्री भेटिएको प्रहरीको भनाइ छ ।
तीनैजनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ ।

















