विराटनगर: नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु भएको छ। शनिवारबाट काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा शुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौता प्रस्तुत गरेका थिए।
सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेका पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।उनका अनुसार भोलि (आइतवार) ती प्रतिवेदनहरुमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक आज शुरुवात भयो। हामीले बनाएको कार्यतालिका अनुसार आज बैठक सक्नुपर्नेमा छलफलको क्रम नसकिएको हुनाले भोलि पनि यो स्थायी कमिटीको बैठक चल्नेछ।'
नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ। सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल शुरु गरिएको हो। स्थायी कमिटीका सदस्यहरुले आइतवार छलफल गरेपछि सोमवार बोलाइएको पोलिटब्यूरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावका आधारमा त्यसलाई पूर्णता दिने पनि प्रवक्ता खतिवडाले बताए।

















