इटहरी । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ । खीर खाने दिन हुनाले आजको दिनलाई खरना भनिएको बताइन्छ ।
दिनभर उपबास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाका साथ खीर पकाएर ग्रहण गर्दछन् । खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नमाउनेको घरमा प्रसादका रूपमा वितरण पनि गर्ने चलन छ ।
सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चार दिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो पहिलो दिन नहाय खाय विधिबाट शुरु भएको छ । पहिलो दिन ब्रतालुहरूले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।
तेस्रो दिन छठ पर्वको मुख्य दिन हो ।
यस पर्वमा बाँसको ढाकी, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दीनानाथलाई चढाउने गरिन्छ ।
अघ्र्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अघ्र्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ ।


















