इटहरी । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनमा प्ले अफमा दुई टोली पुगेका छन् । तीन टोली बाहिरिएका छन् । अब बाँकी तीन टोलीबाट प्लेअफमा पुग्ने २ टोली टुङ्गो लाग्ने भएको छ ।
एनपीएलको तेस्रो सिजनमा जनकपुर, कर्णाली र पोखराको यात्रा लिग चरणमै समाप्त भएको छ । साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र साबिक विजेता लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ । चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छ ।
काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ । तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ । अझ विराटनगरका लागि जीत निकालेर मात्र पुग्दैन बाँकी दुई टोलीको हारको कामना गर्नु पर्नेछ ।
अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन् । तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ । आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ ।
आज साबिक विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिष्पर्धा हुँदैछ । लुम्बिनी लायन्सले आजको खेल हारे पनि प्ले अफमा पुग्नेछ । विराटनगर किंग्स भने आज विजयी हुँदैमा प्लेअफमा पुग्ने छैन । विराटनगरले जीत निकालेर मात्र पुग्दैन काठमाडौं गोर्खाज र चितवन राइनोज पराजित भएमा मात्रै विराटनगर प्लेअफमा पुग्नेछ ।

















