काठमाडौं । ‘लिटिल बुद्ध’ का नामले चर्चित रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहरिएका छन् । आज (सोमबार) सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ । बमजनविरुद्ध बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (क १) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो । हत्या र यौनहिंसाका आरोपित बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो ।

बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बमजनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बमजन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । पछिल्लो समय भने बमजन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनी बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेको छैन ।

२०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बमजनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बमजनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए । हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका बमजनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ । बमजन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीले निकै कसरत गर्नु परेको थियो ।