काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले पदमा बसेपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई सुझाव दिएकी छन् । काठमाडौं महानगरको नगर सभा बैठकमा बोल्दै उपमेयर डंगोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामी सबैलाई विनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरु सार्वजनिक रुपमा विवादमा उत्रिन नहुने उनले बताइन् । उनले मेयर र आफूलगायतका युवा नेताहरु राजनीतिमा आएको र आफूहरुका काम विश्वले हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्ने बताएकी छन् । उनले न्यूरोड, कलंकी जस्ता स्थानको विवाद संवादबाट समाधान गर्नुपर्ने बताएकी छन् ।