काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत रकम अपचलनमा संलग्न जीबी राई मलेसियामा रहेको र नेपाल ल्याउन त्यहाँका गृहमन्त्रीसँग दुई पटक संवाद भएको बताएका छन् ।
उनले दुबै देशका राज्य संयन्त्र निरन्तर संवादमा रहेको दावी गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मलेसिया सरकारले मागेबमोजिम कागजपत्र पठाउने काम भएको र जीबी राईको राहदानी खारेजीको प्रक्रिया अघि बढाउँदा राहदानी विभाग र अदालतले अवज्ञा गरिदिएको बताए ।
‘उनी फरार भएको आठ महिनापछि म मन्त्रालयको नेतृत्वमा आएको हुँ, आकासमा भए पनि पातालमा भए पनि पक्राउ गर्छाैँ मैले नै भनेको हो । म आफ्नो भनाइमा मात्र होइन काम गराइमा पनि इमान्दार भएर लागि परेको छु ।’
उनले जीबी राईलाई नेपाल ल्याएर पीडित जनताको रकम फिर्ता गर्न सरकार लागिरहेको जिकिर गरे । ‘निरन्तर रूपमा लाग्दै आएका लान्छनाबाट मुक्ति पाउन सत्यतथ्य उद्घाटित हुन व्यक्तिगत रूपमा मेरो लागि पनि उनको पक्राउ ब्यग्र प्रतिक्षाको विषय हो’, उनले भने, ‘राजनीतिक र कुटनीतिक प्रयासबाट उनलाई नेपाल ल्याउन सरकार सफल हुने पूर्ण विश्वास छ ।’


















