काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आइतबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठूलो वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो । मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपाल नजिक रहेकाले नेपालमा मनसुन थप सक्रिय हुन लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण शुक्रबारदेखि आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने मौसमविद् गोविन्द झाले बताए । नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान सुरु भइसकेको छ । विगत १२ घण्टामा सर्लाही क्षेत्रमा १४५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।


















