इटहरी डेस्क । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भने, ‘आजसम्म हामीले उहाँलाई राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्न भनेका थियौँ । त्यस्तो नहुने देखिएकाले समर्थन फिर्ता लिने निर्णयको कपीसहित प्रधानमन्त्रीलाई पत्र बुझाउँदैछौँ । हाम्रा मन्त्रीहरू पनि फिर्ता हुनुहुन्छ ।’
एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । ७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको माओवादी, २१ सिटको रास्वपा, १० सिटको नेकपा एकीकृत समाजवादी, ७ सिटको जसपा र ६ सिट रहेको जनमतको मात्र समर्थन बाँकी रहेको छ । अब प्रचण्डले आगामी साउन १९ भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।


















