-भोजराज घिमिरे 

 साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ। रास्वपाकी केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका थिए।

प्रसाईंले संग्रौलाबिरुद्ध ‘फेक सूचना’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए, जसको कारण संग्रौलाले साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन्। काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

प्रसाईंका छोरा निराजन प्रसाईंले यसविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। तर, सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उनलाई रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले प्रसाईंको पक्राउका सम्बन्धमा कारण देखाउ आदेश पनि जारी गरेको छ।

साइबर ब्युरोले प्रसाईंलाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ।