मोरङ, भदौ ९ – नेकपा (एमाले)को तर्फबाट कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका १८ वर्षीय छोरा अक्षत माझीले विनालाइसेन्स चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। चार दिनअघि भएको दुर्घटनामा झापाको चारआली निवासी २४ वर्षीय आकाश मण्डल गम्भीर घाइते भएका थिए, जसको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दुर्घटना भदौ ५ गते साँझ मोरङको बूढीगंगा गाउँपालिका–१ मा भएको थियो। प्रहरीका अनुसार, तीव्र गतिमा नेमुवाबाट विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले हिमगिरी साबुन फ्याक्ट्रीअगाडि बाटो क्रस गर्दै गरेका आकाश मण्डललाई ठक्कर दिएको थियो। गम्भीर अवस्थामा रहेका मण्डलको बुधबार राति २ः३० बजे उपचारका क्रममा निधन भयो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चालक अक्षत माझीले बिना लाइसेन्स सवारी चलाएको पाइएको छ। दुर्घटनामा परेर उनी पनि घाइते भएका छन्, र विराटमै उपचार भइरहेको छ। चिकित्सकका अनुसार, माझीको टाउको, अनुहार, हातखुट्टामा गम्भीर चोट लाग्नुका साथै करङसमेत भाँचिएको छ।
मृतक मण्डल र उनकी पत्नी उषा तामाङ बूढीगंगा गाउँपालिका–१ मा डेरामा बस्दै आएका थिए र स्थानीय एक होटलमा काम गर्थे। परिवारले आकाशको उपचारका लागि कुनै कमी नगरिएको बताए पनि उनको ज्यान बचाउन नसकिएको जनाएका छन्।
प्रहरीका अनुसार, लापरबाहीपूर्ण तरिकाले बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भएको पुष्टि भएको छ।


















