भोजराज घिमिरे - राजधानी काठमाडौँ उपत्यकामा बाढी र पहिरोको विनाशकारी प्रभावले ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौँमा ११, ललितपुरमा १६, र भक्तपुरमा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। यससँगै, १२ जना अझै बेपत्ता रहेका छन्, जसमा काठमाडौँबाट १ र ललितपुरबाट ११ जना रहेका छन्।
बाढी–पहिरोको कारण विभिन्न स्थानमा दर्जनौं मानिसहरू घाइते भएका छन्। काठमाडौँमा १० जना, ललितपुरमा ५ जना, र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका छन्। पीडितहरूको तत्काल उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेना संयुक्त रूपमा सक्रिय छन्।
प्रहरीका अनुसार, बाढी र पहिरोमा फसेका १०५३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूमध्ये काठमाडौँबाट ५८९, ललितपुरबाट ४१६, र भक्तपुरबाट ४८ जना रहेका छन्। उद्धार कार्य जारी रहे पनि मौसम प्रतिकूलताको कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
बाढी–पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रहरूमा राहत तथा पुनर्स्थापनाका लागि स्थानीय प्रशासन र स्वयंसेवी संस्थाहरूले पनि सहयोग पुर्याइरहेका छन्। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।


















