-भोजराज घिमिरे
विराटनगर, असोज १४ – विराटनगरस्थित विशाल चौकमा रहेको गंगा जल पेय उद्योगबाट उत्पादन भएको शिलबन्दी गरिएको जारभित्र भोला गुट्खाको खोल भेटिएको छ। यो घटना सोमबार असोज १४ गते भएको हो। पानी वितरणमा चरम लापरवाही र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको यो घटनाले उद्योगको गैरजिम्मेवार चरित्रलाई उजागर गरेको छ।विराटनगर-११ स्थित ओरेक नेपालका लागि असोज १३ गते मगाइएको १० जार पानीमध्ये एक जारभित्र गुट्खाको खोल भेटिएपछि उपभोक्तामा त्रास फैलिएको छ। ओरेक नेपालका प्रतिनिधि नविन रेग्मीले लामो समयदेखि यही उद्योगको पानी प्रयोग गर्दै आएको बताए। उनले भने, "जारको पानी सकिएपछि अर्को जार खोल्दा गुट्खाको खोल भेटियो। यस्तो नामी उद्योगले स्वास्थ्यको विषयमा यति ठूलो लापरवाही गर्नु अत्यन्तै खेदजनक छ।"
घटनापछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कोशी प्रदेशका खाद्य निरीक्षक विरेन्द्र कुमार दासले तत्काल उद्योगको अनुगमन गर्दै विवादित जारलाई नियन्त्रणमा लिएका छन्। "जारमा अखाद्य वस्तु भेटिएको हुँदा शिलबन्दी गरी नमूना संकलन गरिएको छ। परीक्षणपछि कैफियत प्रमाणित भए कानुनअनुसार कारबाही हुनेछ," दासले भने।
विराट गंगा जल पेय उद्योगका संचालक अंकित मारुले भने गल्ती स्वीकार्दै कर्मचारीबाट लापरवाही भएको हुनसक्ने बताएका छन्। तर यस्तो बयानले उपभोक्ताको स्वास्थ्यमा भएको जोखिमको जिम्मेवारीलाई पन्छाउन सकिँदैन। आम नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने यस्ता उद्योगलाई कडा भन्दा कडा कारबाहीको माग सर्वत्र उठेको छ।
यो घटनाले उपभोक्ताको स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डप्रति बेवास्ता गर्दै आएको पानी उद्योगहरूको वास्तविकता उजागर गरेको छ। अब यस प्रकारका उद्योगहरूमाथि गहिरो छानबिन गरी आवश्यक कानुनी कारबाही र सुधारका कदमहरू नचालिएमा भविष्यमा अझ ठूलो स्वास्थ्य संकट निम्तिन सक्छ।


















