मकवानपुर, हेटौंडा — मकवानपुर प्रहरीले साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित भारतको महाराष्ट्र राज्यका दुई व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा–१५ रातोमाटेमा चेकिङका क्रममा बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरमा पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका अभिषेक अजिनाथ कुटी (२५ वर्ष) र राहुल भिट्टिहाल बाड (२७ वर्ष) पक्राउ परेका हुन्। उनीहरूकै शरीरमा लुकाइएको अवस्थामा बिस्कुटको आकारमा सुन फेला परेको थियो।मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा गरिएको सो चेकिङ अभियानमा अवैध रूपमा भन्सार छली गरि ल्याइएको सुन बरामद गरिएको हो। उक्त सुनको बजार मूल्य करिब ११ करोड ४३ लाख रुपैयाँ रहेको छ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिरहेको जनाएको छ। मकवानपुरमा नयाँ प्रहरी प्रमुखको नियुक्तिसँगै सुन तथा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूको पक्राउ तीव्र भएको छ। केही दिनअघि पनि हेटौंडाबाट अवैध सुनसहित एक व्यक्ति पक्राउ परेका थिए।


















