सुनसरी – सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-७ स्थित हजरुल खातुनको घरबाट प्रहरीले नक्कली नेपाली नोटसहित लागूऔषध बरामद गरेको छ। प्रहरीले खातुनको घरमा छापा मारेर ५० हजार रुपैयाँ बराबरका नक्कली नोट र नाइट्रोजन ट्याब्लेट नामक लागूऔषध फेला पारेको हो।
प्रहरीले बरामद गरेका नोट एक हजार दरका ५० वटा रहेको जनाइएको छ। यससँगै प्रहरीले खातुनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ। लागूऔषध तथा नक्कली नोट कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले यस किसिमका गतिविधिहरूले समाजमा नकारात्मक प्रभाव पार्ने बताउँदै अपराधीलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


















