गण्डकी प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन पुरुष र चार महिलाको ज्यान गएको हो। तनहुँका ४८ वर्षीया पुरुषको गत साउन १० गते पहिलो पटक मृत्यु भएको थियो। त्यसपछि साउन २२ मा कास्कीका ४० वर्षीय पुरुष, साउन ३१ मा ५२ वर्षीया महिला, भदौ १९ मा म्याग्दीका ६१ वर्षीय पुरुषको ज्यान गएको छ। कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सन् २०२४ को जनवरीदेखि हालसम्म गण्डकी प्रदेशमा १२ हजार ७२६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माका अनुसार प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ। पोखरा महानगरपालिकामा मात्रै ६ हजार ४५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयता सङ्क्रमण दर तीव्र गतिमा बढेर साढे १२ हजारभन्दा माथि पुगेको छ। विशेष गरी जुलाईदेखि सङ्क्रमण दर उच्च देखिएको हो। जुलाईमा ७२८, अगस्टमा ४०८३ र सेप्टेम्बरमा ६७२० जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका तथ्याङ्क अनुसार कास्कीमा ६,५४८ जनामा डेङ्गु देखिएको छ भने मनाङमा सबैभन्दा कम दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। तनहुँमा २८६१, पर्वतमा ११४६, गोरखामा ६६४, बागलुङमा ५३९, स्याङ्जामा ४४३, म्याग्दीमा २१३, नवलपुरमा १८१, लमजुङमा १२० र मुस्ताङमा ९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

शर्माका अनुसार डेङ्गुको सङ्क्रमणलाई रोकथाम गर्न तत्कालै सतर्कता अपनाउनु आवश्यक छ।