आश्विन – आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ। अष्टमी र नवमी तिथि एकै दिन परेको कारण महाअष्टमी र महानवमी दुवै पर्व आज नै मनाइँदैछ। महानवमीको दिन दुर्गा भवानीको पूजा गर्दै घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइने परम्परा छ।

महानवमीको अवसरमा दसैंघर, कोत, र अन्य देवी मन्दिरहरूमा विशेष पूजा, बलि, र दुर्गा सप्तशती (चण्डी) पाठ गरिन्छ। अधिकांश स्थानमा बोका, हाँस, कुखुरा, र राँगाको बलि दिइन्छ भने शाकाहारीहरूले कुभिण्डो, मूला, घिरौंला, र जटा नरिवल चढाउँछन्। कतिपय शक्तिपीठमा पञ्चबलिको समेत व्यवस्था छ।

महानवमीको ऐतिहासिक र धार्मिक महत्व पनि छ। मार्कण्डेय पुराण अनुसार, यही दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्। यस दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ।

यस अवसरमा कोतहरूमा कोतपूजा र निशानापूजा गरिन्छ। हनुमानढोका दरबार र नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा पनि बाजागाजासहित जङ्गी निशाना पूजा गरिन्छ।