विराटनगर – विराटनगरस्थित मुन होटलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार साँझ भएको घटनामा संलग्न रहेको आरोपमा विराटनगर-१० का ४५ वर्षीय सावन दास र विराटनगर-१२ का ४२ वर्षीय विनोदकुमार राय कामतलाई धरानबाट पक्राउ गरिएको हो।

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार भगतमाथि खुकुरी आक्रमणपछि अभियुक्तहरू भारततर्फ भाग्ने योजना बनाए पनि प्रारम्भिक अनुसन्धानले उनीहरू धरानतर्फ भागेको खुलासा गरेको छ। पक्राउ परेका दुवै जनालाई विराटनगर ल्याएर सोधपुछ भइरहेको छ भने घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुन सक्ने भन्दै अनुसन्धान अघि बढाइएको छ।प्रहरीले भगतमाथि आक्रमणमा संलग्न चार जनाविरुद्ध जाहेरी दर्ता भएको जनाएको छ, र अन्य दुई जनाको खोजी तीव्र रूपमा भइरहेको छ।

खुकुरी प्रहारबाट भगतको देब्रे हात र नाकमा चोट लागेको भए पनि उनको अवस्था सामान्य रहेको बताइएको छ।प्रहरीले घटनाका दोषीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै घटनाको थप अनुसन्धान जारी राखेको छ।