महोत्तरी, ३० बुधबार – महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका-२ भोल्ही चौकमा प्रहरीले स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार विहान चेकजाँचको क्रममा सम्सी गाउँपालिका-७ का २८ वर्षीय रामस्नेही साहलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार साह भारतबाट नेपालतर्फ वीआर३०एएफ ३८७६ नम्बरको मोटरसाइकलमा आइरहेका थिए। चेकजाँचको क्रममा साहसँग १ हजार दरका ८ सय १ थान र ५ सय दरका ९ वटा नोटहरू फेला परेको बताइएको छ।
प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित साहलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।


















