मोरङ, लेटाङ -मोरङको लेटाङ नगरपालिका–१ मा दमन्त निरौलाको घरमा ग्यास लिकका कारण आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार, आज दिउँसो खाना पकाउने क्रममा सिलिन्डरको बर्नरबाट ग्यास लिक भएपछि एक तले काठको टाँडे घरमा आगलागी भएको हो। आगलागीका कारण घर पूर्ण रूपमा जल्नुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, र भाँडावर्तन पूर्णरूपमा नष्ट भएका छन्।

घटनास्थलमा लेटाङको दमकल, बुधबार प्रहरी चौकीका प्रहरी, नगर प्रहरी, र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको ठ्याक्कै कारण र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।