मोरङ, झापा, र उदयपुर— तीन जिल्लाबाट प्रहरीले लागुऔषध र प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूको साथबाट ब्राउन सुगर (खैरो हेरोइन), गाँजा र प्रतिबन्धित औषधि ट्रमाडोल तथा स्पासपेन जस्ता औषधिहरू बरामद गरिएको छ।

मोरङमा दुई जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–६ बाट शुक्रबार ३० वर्षीय प्रकाश विक र ५१ वर्षीय काजीमान सार्कीलाई प्रतिबन्धित औषधि ट्रमाडोल र स्पासपेनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २,०१० क्याप्सुल ट्रमाडोल र स्पासपेन बरामद भएको छ।

उदयपुरमा चार जनालाई नियन्त्रणमा

उदयपुरको त्रियुगा नगरपालिका–१२ का २० वर्षीय रुपन लिम्बू, २८ वर्षीय असिम राई, ३६ वर्षीय सञ्जीव थापा, र त्रियुगा–१३ का ३५ वर्षीय मिलन थापा पक्राउ परेका छन्। उनीहरूको साथबाट ५० क्याप्सुल स्पासपेन र १५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

झापामा एक जना पक्राउ

झापाको भद्रपुर नगरपालिका–३ बाट २५ वर्षीय विष्णु राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। हल्दिबारी गाउँपालिका–२ का राजवंशीको साथबाट १ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो।

प्रहरीले सबै पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।