हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा एउटा अनौंठो र कल्पना पनि गर्न नसकिने अपराधको घटना बाहिर आएको छ। मकवानपुरको मनहरी गाउँपालिकामा एक ५० वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ ।

पीडित महिलाले कात्तिक १ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा सामुहिक बलात्कारको आरोपमा उनको श्रीमान नै पक्राउ परेका छन् । ३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामुहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामुहिक बलात्कार गरेको उजुरी दिएकी हुन् । प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ । आरोपित दुई युवा भने फरार छन् । पीडित महिलाले दुई किशोर अन्दाजी १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान भइनसकेको प्रहरीले जनाएको छ । 

महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको तर किशोरहरुलाई आफूले नचिन्ने बताएको जानकारी दिंदै डीएसपी अर्यालले भने, ‘दोषी पहिचानका लागि सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’ पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित महिलाले तीन वर्षअघि मात्रै दोस्रो विवाह गरेकी पाइएको प्रहरीको भनाइ छ ।