पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत लैजाँदै रास्वपा कार्यकर्ता र सहकारीपीडित दुवै पक्ष प्रदर्शनमा उत्रिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता– कार्यकर्ताले आइतबार पनि प्रदर्शन गर्ने भएका छन् । अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गर्ने भएका छन् । 

एक पक्षले रवि पक्राउको विरोधमा प्रदर्शन गर्ने र अर्कोतर्फ सहकारी पीडितले रविलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भए पनि तनावको अवस्था सिर्जना हुने अनुमान गरिएको छ ।  रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुक भेला हुने क्रम  सुरु भइसकेको छ । 

यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरुले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ ।  राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । दुबै पक्षले नजिक नजिकै प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ । सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको शहीदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचनाच जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो । त्यस्तै गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्र तोकिएका ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख छ।