विराटनगर  -हाल नेपालभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव पनि देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा लुम्बिनी र मधेस प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहेको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहेको छ।मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयमा पनि लुम्बिनी प्रदेश र देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहिरहने तथा केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राति पनि पहाडी भू-भागमा बदली रहिरहने र अन्य स्थानहरूमा मौसम आंशिक बदलीका साथ मुख्यतया सफा रहने अनुमान गरिएको छ।मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म मौसममा परिवर्तनशीलता कायम रहनेछ। विभागले आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।