काठमाडौं, असोज ६ – देशभर पश्चिमी वायुको प्रभाव रहिरहेसँगै केही स्थानमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार, अहिले मधेस, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार, मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसका साथै, देशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। राति पहाडी भूभागमा आंशिक बदली रही, बाँकी भूभागमा मौसम प्राय: सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा रातिको समयमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाले मौसममा हुने परिवर्तनको कारणले विशेषगरी पहाडी क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।


















