- भोजराज घिमिरे
इनरुवा – सुनसरीको इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई कारवाही गर्न प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल कोशी प्रदेशले माग गरेको छ। गत शनिबार स्वास्थ्य कार्यालय सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्षमै हातपात र अमर्यादित गालीगलौज गरिएको थियो।
यस घटनाप्रति आपत्ति जनाउँदै महासंघका इन्चार्ज अन्जना पोखरेल र अध्यक्ष एकराज खत्रीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। महासंघको विज्ञप्तिमा भनिएको छ, “अहोरात्र जनताको स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अराजक व्यक्तिहरूबाट भइरहेका यसप्रकारका अमानवीय क्रियाकलाप र ज्यादतीको हामी घोर निन्दा गर्दछौं।”
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) अनुसार आक्रमणकारीलाई कारवाही गर्न र स्वास्थ्यकर्मीलाई उचित न्याय दिलाउन पनि माग गरिएको छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुरक्षाको प्रत्याभूति पाउने वातावरण निर्माण गर्न महासंघले सम्बन्धित सबै सरोकारवालाहरूलाई आह्वान गरेको छ।
डाक्टर राईमाथि बिरामीको उपचारमा लापरबाही गरेको आरोप लगाउँदै एक समूहले उनको कार्यकक्षमै पुगेर आक्रमण गरेको थियो।


















