इटहरी । सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) गरेको प्रदर्शनका क्रममा ५१ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन्। ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन्। रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो । उनीहरूलाई काठमाडौँका विभिन्न प्रहरी वृत्तमा राखिएको छ। प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।


















