ताप्लेजुङ । ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्। यौन हिँसामा परेकी १६ वर्षीया किशोरी गर्भवतीसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रहरीका अनुसार किशोरीलाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय राकेश हेम्ब्या लिम्बु पक्राउ परेका हुन्।पीडित किशोरीकी हजुरआमाले दिएका किटानी जाहेरीको आधारमा लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
किशोरी गर्भवती भएपछि लिम्बू फरार थिए। घर आएको मौका छोपेर प्रहरीले उनलाई पक्राउ गरेको हो।लिम्बूमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १८ बमोजिम अनुसान्धान सुरु गरिएको इन्सपेक्टर बस्नेतले बताए।


















