मोरङको बूढीगंगा गाउँपालिका–२, बिराटनगर टंकीसिनवारीमा भएको चोरी प्रकरणमा प्रहरीले सुनका गहना र नगदसहित एकजनालाई पक्राउ गरेको छ। बूढीगंगा–२ का ३१ वर्षीय किशोर खड्कालाई प्रहरीले पक्राउ गरेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिएका छन्।
स्थानीय निर्मल बस्नेतको घरमा बिहीबार राति सबै सुतिरहेका बेला कोठाको दराजमा राखिएको डेढ तोलाको सुनको सिक्री, कानमा लगाउने आठ आनाको रिङ, एक तोलाको सुनको औंठी एक जोडी, चार आनाको सुनको पेन्डल र ३० हजार रूपैयाँ नगद चोरी भएको थियो। प्रहरीका अनुसार, चोरीमा ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको हो।
घटनास्थलमा अभियुक्तले प्रयोग गरेको मोबाइल भेटिएको र सोही मोबाइलको आधारमा अनुसन्धान गर्दा किशोर खड्कालाई पक्राउ गर्न प्रहरी सफल भएको हो। इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ प्रवीण खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। खड्काको घरबाट चोरी भएका सुनका गहना र नगद २४ हजार २ सय रूपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।
खड्काविरुद्ध चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।


















