मोरङ, रंगेली — मोरङको रंगेली नगरपालिका–९ महिनाबारीका ६४ वर्षीय लखन सतार शुक्रबार राति मृत अवस्थामा फेला परेका छन्। घाँस काट्न गएका सतार घर नफर्किएपछि खोजी गर्दा स्थानीय खेतको पानीमा डुबेको अवस्थामा उनी मृत भेटिएका हुन्।
सातार अपरान्हमा घाँस काट्न हिँडेका थिए तर रात परे पनि घर नफर्किएपछि परिवारले खोजी थाल्यो। खोजीका क्रममा उनी स्थानीय झमक मगरको खेतको पानीमा डुबेको अवस्थामा भेटिएका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, स्थानीयले राति ११ः३० बजे घटनाको जानकारी प्रहरीलाई दिएका थिए।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। मृतक सतारको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















