इटहरी । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ। पूर्वका प्रसिद्ध धार्मिक स्थलहरूसँग जोडिएका नदी, खोला तथा पैनीहरू सजाउने काम सुरु भएको छ। झापाको दोमुखा, बिरिङ खोला, इटहरीको टेंग्रा, बुढी गंगा लगायतका स्थानहरूमा आकर्षक छठ घाट निर्माण थालिएको छ।
सुनसरी र मोरङको सिमाना बुढी गंगा मुक्तिघाटमा मात्रै यो वर्ष दुवैतर्फ गरी ५ सय भन्दा बढी छठ घाट निर्माण हुने भएको छ। जसको तयारीस्वरूप पानीको बहाव एकतर्फी र जमिन सम्याउने कामसँगै छठ घाट निर्माणलाई पनि तीव्रता दिइएको छ। इटहरीमा मात्र नभई सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा पनि छठ पर्वलाई भव्य र सभ्य बनाउन विभिन्न समितिहरू बनाएर काम थालिएको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने पर्व छठ याे वर्ष कार्तिक २२ गते पर्न गउकाे छ । कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने याे पर्वमा व्रत बसेर छठ घाटभित्र प्रवेश गरी सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने गरिन्छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।
भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ । पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।


















