पोखरा - पोखरा क्षेत्रमा सोमबार दिउँसोदेखि परेको हावाहुरीसहितको वर्षाले स्थानीय कृषिमा ठूलो असर परेको छ। विभिन्न ठाउँमा असिना समेत परेको छ, जसले पक्दै गरेको र काटेर सुकाउन राखिएको धानमा नोक्सानी पुर्याएको छ। स्थानीय कृषकहरूले यस वर्ष राम्रो उब्जनीको अपेक्षा गरेका थिए तर असिनासहितको पानीले बालीमा ठूलो नोक्सानी पुर्याएको बताएका छन्।
पोखरा–१३ की किसान इन्दिरा आचार्यले असिनाले धानको मुठा भाँचिएको र झरेको बताइन्। उनले पोखरामा प्रख्यात ‘जेठोबुढो’ धान रोप्दै आएकी छन्। "हावाहुरी र पानीसँग झरेको मसिना असिनाले काटेर राखेको धान बिगार्यो भने काट्न बाँकी धान पनि ढल्न थालेका छन्," उनले चिन्ता व्यक्त गरिन्।
कास्कीको लुम्ले क्षेत्रका कृषकहरू पनि असिनाले प्रभावित भएका छन्। स्थानीय नेत्र चापागाईंका अनुसार लुम्लेमा ठूलो असिना परेको छ, जसले पाकेको धानलाई भुइँमा झारेको र काटेर सुकाउन राखिएको धानलाई समेत बिगारेको छ। असिनाले कोदोलाई पनि असर पुर्याएको उनको भनाइ छ।
पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले कात्तिक महिनामा परेको असिना र पानीले धानबालीमा ठूलो क्षति पुर्याएको बताए। "काटेको धानलाई धेरै नोक्सान पुगेको छ। यदि भोलिसम्म पनि पानी पर्छ भने यसपालिको उब्जनीमा ठूलो गिरावट आउन सक्छ," कडरियाले भने। समयमै वर्षा भएकाले यसपालि राम्रो उब्जनीको अपेक्षा गरिएको भए पनि अहिले परेको असिनाले कृषकहरूको मेहनतमा ठूलो धक्का लागेको उनको भनाइ छ।
असिना र पानीका कारण पोखरामा चिसो पनि बढेको छ, जसले अन्य तरकारी तथा बालीमा पनि असर गर्ने देखिएको छ।


















