मोरङ — मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका–२ मुस्लिम टोलमा मंगलबार राति रोकेर राखिएको एक म्याजिक भेनमा आगलागी भएको छ। प्रहरीका अनुसार, उक्त भेन प्रदेश १–०२–००१ ज ३९४१ नम्बरको थियो र यो सुनसरीको दुहबी नगरपालिका–२ निवासी ४६ वर्षीय अजुवा मियाँको रहेको बताइएको छ।

मियाँले भेनलाई छोरी रोजितनी खातुनको घर अगाडि रोकेर राखेका थिए। राति करिब ८ बजे अचानक भेनमा आगलागी भएको खबर पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर दीपक लिम्बू र इलाका प्रहरी कार्यालय नेमुवाबाट सई प्रवीण खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि भेनको इन्जिन, सीट, र बडी जलेर ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको छ।