विराटनगर -कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बिना अनुमति जापान भ्रमणमा गएको विवादपछि बुधबार पदबाट राजीनामा दिने तयारी गरेका छन्।
मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारीले आज नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिने घोषणा गर्नेछन्। अधिकारीले कार्तिक १३ गते टोकियो महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन जापान प्रस्थान गरेका थिए। तर, सो भ्रमणमा जानुअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयबाट आवश्यक स्वीकृति नलिएको बताइएको छ।
नेपालमा मन्त्रीहरूले विदेश भ्रमण गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको स्वीकृति लिने प्रचलन छ। साथै, विदेश भ्रमणको अनुमति लिन प्रदेश मन्त्रिपरिषद्को निर्णयसमेत आवश्यक पर्छ। मन्त्री अधिकारीले यी प्रक्रियाहरू पुरा नगरेको कारणले नै अहिले विवाद उत्पन्न भएको छ।
‘जापान भ्रमणको अनुमति बिना नै गएको विषयमा विवाद बढेपछि मन्त्री अधिकारीले राजीनामा दिने निर्णय लिनुभएको हो,’ स्रोतले बतायो।


















