विराटनगर, मोरङ – कोशी ग्यास उद्योगले उपभोक्तालाई कम तौल भएको ग्यास सिलिण्डर विक्री गरेको घटनाले बजारमा ठूलो चर्चा पाएको छ। उद्योगले बजारमा पठाएका चारवटा सिलिण्डरमा तोकिएको भन्दा कम तौलको ग्यास भेटिएको छ। मोरङको बुढीगंगास्थित उद्योगबाट बिक्रीका लागि विराटनगर महानगरपालिका–३ बुद्धचौकमा ल्याइएका सिलिण्डरमा १५.३ केजी हुनुपर्ने ग्यासको तौलमा ४ केजीसम्म कम ग्यास पाइएको हो।

विराटनगर–३ निवासी उपभोक्ता किशोर चापागाईंले सिलिण्डरमा ग्यासको तौल कम भएको उजुरी जिल्ला प्रहरी कार्यालयमा गरेपछि यो घटना बाहिर आएको हो। गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको टोलीले सिलिण्डरको तौल जाँच गर्दा ग्यासको खुद तौल क्रमशः १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी, र १३.७६५ केजी मात्र रहेको पाइएको थियो। जबकि यी सिलिण्डरहरूको कुल तौल क्रमशः २६.४० केजी, २५.०४५ केजी, २४.१०० केजी र २९.०६५ केजी थियो।

उपभोक्ताको गुनासोपछि प्रहरीले अनुसन्धान थालेको छ र ग्यास बिक्री गर्दै हिँड्ने राजकुमार मण्डललाई नियन्त्रणमा लिइएको छ। उद्योगका प्रतिनिधि विपिन मण्डल समेतको रोहबरमा मुचुल्का तयार गरिएको छ। उद्योगले बारम्बार यस्तो कम तौलको ग्यास बजारमा पठाउने गरेको आरोप उपभोक्ताहरूले लगाएका छन्।

यो घटनाले उपभोक्ता सुरक्षाको सवालमा प्रश्नचिन्ह खडा गरेको छ। उपभोक्ताहरूले उद्योगको जिम्मेवारी र नियमनमा कडाइको माग गरेका छन्।